युवा संघद्वारा चिम्टेश्वरमा वृक्षारोपण
विदुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, बेलकोटगढी नगरपालिका नगर कमिटीको आयोजनामा शनिवार चिम्टेश्वर क्षेत्रमा वृक्षारोपण गरिएको छ । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र पर्यटन प्रबद्र्धनको उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा नासपाती, एभोकाडोलगायतका फलफूलका विरुवाहरू रोपिएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज केशवराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले वृक्षारोपण जस्ता क्रियाकलापले वातावरणीय सन्तुलन कायम गर्न योगदान पुग्ने भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
भ्यू टावर वरपरका खाली जमिनमा विभिन्न प्रकारका फलफूलका विरुवा रोपिएका छन् । कार्यक्रममा जिल्ला कमिटीका उपाध्यक्ष तथा पूर्व नगरप्रमुख राजेन्द्र रमण खनाल विशेष अतिथिका रूपमा सहभागी थिए । वृक्षारोपण कार्यक्रममा जिल्ला तथा नगर कमिटीका पदाधिकारी, पार्टीका विभिन्न भातृसंस्थाका प्रतिनिधिहरू, कार्यकर्ता र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वृक्षारोपण कार्यमार्फत वातावरण संरक्षण, आर्जनको वैकल्पिक स्रोत र पर्यटन विकासको सम्भावनालाई समेत अघि सारेका थिए ।
