तादीमा बँदेलको आक्रमणमा वृद्धासहित तीन जना घाइते

0
badel

तादी । नुवाकोटको तादी गाउँपालिकामा जङ्गली बँदेलको आक्रमणबाट बृद्धासहित तीन जना स्थानीय घाइते भएका छन् । जङ्गलबाट बस्तीमा पसेका बँदेलले एकैदिन तीन ठाउँमा आक्रमण गर्दा स्थानीयवासी त्रसित बनेका छन् ।
इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार तादी–२ छापथोक कोसगाढेमा कुलोमा काम गरिरहेका बेला ३० वर्षीय श्यामबहादुर तामाङ बँदेलको आक्रमणमा परेर गम्भीर घाइते भएका हुन् । सोही स्थानका ३२ वर्षीय दीपक तामाङ मकैबारीमा काम गरिरहँदा बँदेलले आक्रमण गर्दा घाइते भए । यस्तै, तादी–३ कोसगाढेकी ८० वर्षीया पवित्रा रिमाल घाँस काट्दै गर्दा पछाडिबाट बँदेलले आक्रमणमा परेकी थिइन् ।
तीनै जनाको खरानीटार अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । घाइतेहरूको हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । जंगली बँदेलले दिनदहाडै आक्रमण गर्न थालेपछि स्थानीयहरूमा असुरक्षा बढेको तादीका युवा प्रदीप शर्माले जानकारी दिए । स्थानीयवासी र सुरक्षाकर्मीले बँदेललाई जङ्गलतर्फ भगाउन प्रयास गरे पनि नियन्त्रणमा लिन नसकिएको जनाइएको छ ।
यसअघि पनि यस्तै प्रकृतिका आक्रमणहरू हुँदै आएका थिए । बँदेलको निरन्तर आक्रमण र बस्तीमा पस्ने समस्याका कारण जनजीवन प्रभावित भएको भन्दै स्थानीयले तादी गाउँपालिका, डिभिजन वन कार्यालय र सम्बन्धित निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *