टोल सुधार संस्थाद्वारा नवनिर्मित भवन सञ्चालनमा
विदुर । वट्टार बजारमा एक आकर्षक र कलात्मक भवन निर्माण गरिएको छ । स्थानीय कला, संस्कृति र ऐतिहासिक सम्पदालाई झल्काउने उद्देश्यले यो भवन निर्माण गरिएको हो । सामाजिक सेवा र सांस्कृतिक संरक्षणमा जोड दिंदै उक्त भवन निर्माण गरिएको हो ।
विदुर नगरपालिका–४ स्थित पुरानोपाटी नजिकै ुबट्टार टोल सुधार संस्थाुको पहलमा निर्माण सम्पन्न भएको सो भवनको उद्घाटन नगरप्रमुख राजन श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख श्रेष्ठले सामाजिक सेवा मानव सेवा नै भएकाले यस्ता अभियानमा सबै नागरिक क्रियाशील हुनुपर्नेमा जोड दिए ।
विदुर नगरपालिकाको करिब ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो भवन दुई तले र पाँच कोठे संरचनामा तयार गरिएको छ । यस भवनमार्फत वट्टार क्षेत्र मात्र नभई सम्पूर्ण विदुर नगरपालिकाको कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा पहिचानको संरक्षण र प्रवद्र्घन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
उद्घाटन समारोह संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पनन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, पूर्व वडाध्यक्ष टलकमान श्रेष्ठका साथै अन्य सरोकारवालाहरू, स्थानीय समाजसेवी र बासिन्दाहरूको सहभागिता थियो ।
करिब ७० लाख रुपैयाँको लागतमा बनेको यो भवन सामुदायिक विकास र स्थानीय गतिविधिहरूको लागि महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता पूर्वाधारले समुदायमा मेलमिलाप, सेवा प्रवाहमा सुधार र समृद्घ बस्ती निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यो भवन बट्टार टोल सुधार संस्थाको समन्वयमा स्थानीयको सहयोग, नगरपालिकाको सहकार्य र विभिन्न दाताहरूको आर्थिक सहयोगमा निर्माण भएको हो ।
