खड्कुले झरनामा महोत्सव, पर्यटन प्रवद्र्धनमा जोड
पञ्चकन्या । नुवाकोटको पूर्वी भेगमा रहेको खड्कुले झरनामा पहिलोपटक झरना महोत्सव सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादन तथा संस्कृति उजागर गर्ने उद्देश्यसहित पञ्चकन्या गाउँपालिकाको आयोजनामा उक्त महोत्सव गरिएको हो ।
पञ्चकन्या गाउँपालिका–३ र ४ को सिमानामा पर्ने गौमती खड्कुले झरना–सिद्धेश्वर नागदह क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विस्तार गर्न एकदिवसीय महोत्सव आयोजना गरिएको हो । झरना व्यवस्थापन समितिको संयोजनमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले उद्घाटन गरेका थिए ।
अध्यक्ष तामाङले प्राकृतिक स्रोतहरूलाई सदुपयोग गरी पर्यटन, रोजगारी र आम्दानीको माध्यम बनाउनु पर्नेमा जोड दिए । उनले झरनाको दृश्यावलोकनले मनोरञ्जनसाथ मानसिक सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष विमला पाठक केसीले महोत्सवमार्फत स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अवसर पनि सिर्जना भएको धारण राखिन् । प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले खड्कुले झरनासहित घ्याङस्वारा र कपिलेश्वर क्षेत्रलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको जानकारी दिए ।
महोत्सवमा स्थानीय कलाकारहरूले गीत–संगीत, झाँकी र सांस्कृतिक प्रस्तुति दिएका थिए। भजनकीर्तन, परम्परागत नाचगान र धार्मिक विधिहरूले कार्यक्रमलाई जीवन्त बनाएको थियो । स्थानीय किंवदन्ती अनुसार नागपञ्चमीको अवसरमा यहाँ विशेष पूजा गरेपछि भाँडा–कुँडा माग्न जाँदा पाइने जनविश्वास रहिआएको छ। यही सन्दर्भमा नागपञ्चमीको दिन लामा गुरु र ब्राह्मण पुरोहितबाट विशेष पूजा–अर्चना गरी झन्डोत्तोलनसहित महोत्सव सम्पन्न गरिएको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयको सहभागिता थियो । आगामी वर्षदेखि नागपञ्चमीलाई अवसर बनाएर नियमित रूपमा मेला आयोजना गर्ने गाउँपालिकाको योजना छ ।
