किर्ते हस्ताक्षरमा अख्तियारमा दुई उजुरी
विदुर । तारकेश्वर गाउँपालिका–५, कल्लेरीडाँडास्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीमाथि किर्ते हस्ताक्षर गरेर विद्यालयको खाताबाट ६३ लाखभन्दा बढी रकम निकालेको आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई उजुरी दर्ता भएको छ ।
अधिकारिले चैत महिनाको अन्तिमदेखि असारको अन्तिमसम्म तीन महिनाको अवधिमा ३१ लाखभन्दा बढी रकम आफ्नै नाममा चेक काटेको प्रमाण पाएपछि उजुरी दर्ता भएको हो । उपलब्ध कागजातअनुसार, चैत ३१ गते प्रधानाध्यापक अधिकारीको नाममा ६ लाख र असार २४ गते उनको ज्योति विकास बैंक खातामा २५ लाख ३६ हजारभन्दा बढी रकम जम्मा भएको देखिन्छ ।
विद्यालयको हिमालयन बैंक खातामा प्रधानाध्यापक र पूर्व लेखापाल अनिता तामाङको संयुक्त हस्ताक्षर चल्ने प्रचलन छ । तर तामाङले २०८१ फागुन १ गते राजीनामा दिएपछि पनि असार मसान्तसम्मको चेकमा उनको हस्ताक्षर प्रयोग भइरहेको छ । पूर्व लेखापाल तामाङले सामाजिक सञ्जालमा भनेकी छन् आफू पदमा नरहेकाले कुनै आर्थिक गतिविधिमा जिम्मेवार नहुने र आफ्नो नाम तथा हस्ताक्षर दुरुपयोग भएको बताएकी छन् ।
तर, प्रधानाध्यापक अधिकारीले भने तामाङको राजीनामापछि पनि कम्तीमा नौ वटा चेकबाट आर्थिक कारोबार भएको स्वीकारेका छन् । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ समिति नबनेका कारण लेखापालको नाम र हस्ताक्षर अझै पनि बैंक खातामा कायम रहेको उल्लेख छ ।
विद्यालय व्यवस्थापन समितिको पुनः गठनका लागि अभिभावक भेला भएको भए पनि राजनीतिक विवादका कारण काम अघि बढ्न नसकेको विद्यालय सूचना अधिकारी रामकुमार अधिकारीले बताए । विद्यालयको आर्थिक कारोबार प्रधानाध्यापक र लेखापालको संयुक्त हस्ताक्षरबाट मात्रै गर्नुपर्ने नियम हुँदाहुँदै लेखापालको अनुपस्थितिमा अधिकारीले किर्ते हस्ताक्षर गरी चेक काटेको आरोप छ ।
पूर्व लेखापाल तामाङले आफ्नो राजीनामा अघि चारवटा मात्र चेकमा हस्ताक्षर गरेको बताएकी छन्, तर राजीनामापछि असार मसान्तसम्म कम्तीमा नौ वटा चेक भुक्तानीमा प्रयोग भएको कागजातहरूले देखाएका छन् ।
बेलायतमा अध्ययनरत तामाङले सामाजिक सञ्जालमा आफ्नो नाम र हस्ताक्षर प्रयोग गरी कर्मचारीहरूलाई तलब वितरण भए पनि आफूले पुस र माघ महिनाको तलब नपाएको गुनासो गरेकी छन् । साथै, उनले बैंकहरूलाई समेत यो दुरुपयोगबारे सूचना पठाएको तर बैंकबाट कुनै प्रतिक्रिया नआएको बताइन् ।
अख्तियारमा दर्ता भएको उजुरीहरूमा लेखापालको नाममा आर्थिक कारोबार भइरहेको र प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरेको स्पष्ट गरिएको छ । अधिकारीले चेकमा किर्ते हस्ताक्षरको आरोप अस्वीकार गर्दै आफूले उपलब्ध चेकहरू प्रयोग गरेको बताएको भए पनि यो विषयले विद्यालयको व्यवस्थापनमा ठूलो प्रश्नचिन्ह खडा गरेको छ । यस विषयमा नेकपा एमाले र माओवादी केन्द्रका स्थानीय तह समितिहरूले संयुक्त रूपमा पारदर्शिता सुनिश्चित गर्न स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
