नुवाकोटमा ‘दौडिन्छ नुवाकोट’
विदुर । स्वास्थ्य र खेल पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नुवाकोटको विदुरमा शनिबार ‘दौडिन्छ नुवाकोट’ अभियान सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको यस दौडमा एक सय ४० खेलाडीहरुको सहभागिता रहेको थियो ।
‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित भएको प्रतियोगितामा विश्व कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, शिक्षक, विद्यार्थी र सर्वसाधारणको उत्साहजनक सहभागिता थियो । दौड त्रिशूली बजारबाट सुरु भई बट्टार पुरानो बजारमा पुगेर समापन भएको थियो । चार किलोमिटर दूरीमा रहेको यस दौडको प्राविधिक व्यवस्थापन नुवाकोट एथ्लेटिक्स संघले गरेको थियो ।
प्रतियोगितामा १५ मिनेटको समयमै दूरी तय गर्दै मनिष श्रेष्ठ पहिलो भएका छन् । विजेता श्रेष्ठलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ तथा जिल्ला खेलकुद विकास समिति अध्यक्ष विजय गुरुङलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले स्वास्थ्य र खेल पर्यटन प्रवद्र्घनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । धावक मानन्धरले नियमित खेलकुदले शरीरलाई तन्दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा धारणा राखेका थिए ।
‘दौडिन्छ नुवाकोट’ अभियानअन्तर्गत भएको यो प्रयासले नुवाकोटमा खेल पर्यटनको सम्भावना उजागर गरेको र स्थानीय सहभागिता उत्साहजनक रहेको आयोजक पक्षको भनाइ छ ।
