बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सांसद टोली
बिदुर । अविरल वर्षाले जिल्लाको दुप्चेश्वरलगायतका क्षेत्रमा पु¥याएको क्षतिको सांसद तथा जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेको छ । टोलीले बाढी र पहिरोबाट पीडित क्षेत्रको अवलोकन गर्दै सम्बन्धित निकायलाई तत्काल राहत तथा व्यवस्थापन कार्यमा सक्रिय हुन निर्देशन दिएको छ ।
संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङ र बागमती प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री राधिका तामाङ नेतृत्वको टोलीले दुप्चेश्वर गाउँपालिकाको कल्लेरी क्षेत्र लगायत आसपासका भूभागको स्थलगत अवलोकन गरेको हो । टोलीले दुप्चेश्वर–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक खण्ड र त्यस आसपासका बस्तीमा गएको पहिरोले जनधनमा पु¥याएको क्षति बारे जानकारी लिएको छ ।
प्रदेश सांसद राधिका तामाङका अनुसार दुप्चेश्वर–३ स्थित कल्लेरीमा गएको पहिरोका कारण कम्तीमा १३ घर प्रत्यक्ष जोखिममा छन् । यदि तत्काल पहिरो व्यवस्थापनमा ध्यान नदिइएमा थप क्षति हुन सक्ने उनको भनाइ छ । टोलीले सडक, बस्ती, चालिसे बगरको सहिद स्मृति पार्क र चन्द्रमती खोलामा निर्माणाधीन पक्की पुलको अवस्थाको समेत अवलोकन गरेको थियो । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला प्रहरी प्रमुख लगायत सरोकारवाला निकायलाई उद्घार तथा राहत कार्यमा चाँडो कदम चाल्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
निरीक्षण टोलीमा गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, माओवादी केन्द्र दुप्चेश्वरका इञ्चार्ज लालबहादुर तामाङ, पार्टी अध्यक्ष कमल खतिवडा, विभिन्न वडाध्यक्ष तथा सर्वसाधारणको सहभागिता रहेको थियो । स्थानीय बासिन्दाले दैनिक यात्रा तथा जनजीवन प्रभावित भएकाले तत्काल सडक मर्मत र जोखिम न्यूनीकरण गर्न अनुरोध गरेका छन् । निरीक्षण टोलीले जनताको समस्या समाधानलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गरिने प्रतिबद्घता जनाएको छ ।
