रामती बजारबाट नक्कली नोटसहित दुई पक्राउ
दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । २०८२ साल साउन ६ गते साँझपख रामती बजारमा तीन–चार जना बालकहरू नक्कली नोट लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले विशेष निगरानीपछि दुई जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
प्रहरीले बालकहरूसँग संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा १ हजार दरका नक्कली नोट ६९ थान बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानपछि ती नक्कली नोटहरू दुप्चेश्वर गाउँपालिका–७ का ४२ वर्षीय नरबहादुर तामाङ र सोही स्थानका भीमबहादुर तामाङले बनाएको खुलेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको नुवाकोट प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमध्ये भीमबहादुरको घरमा खानतलासी गर्दा थप २४ थान नक्कली नोट फेला परेको नुवाकोट प्रहरीको भनाइ छ । खोटा मुद्रा उत्पादन र प्रयोगको आरोपमा पक्राउ परेका ती दुई विरुद्घ जिल्ला अदालत नुवाकोटबाट साउन ८ गते सात दिनको म्याद थप अनुमतिसमेत लिइएको छ ।
यस घटनासँगै प्रहरीले स्थानीय स्तरमा संलग्न व्यक्तिहरूको सञ्जाल रहेको आशंका गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ । साथै, घटनामा बालकहरूको प्रयोग भएको देखिएकाले मानव प्रयोग सम्बन्धी समेत अनुसन्धान अघि बढाइने प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । प्रहरीले नक्कली नोट प्रयोगविरुद्घ सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयलाई तुरुन्त जानकारी गराउनसमेत अनुरोध गरेको छ ।
