घरदैलोमै स्वास्थ्य, कृषि र पशु सेवा
शिवपुरी । शिवपुरी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालयले स्थानीय बासिन्दाको घरदैलोमै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन गरेको छ । यो वर्षको पहिलो महिनाको कार्यक्रम अन्र्तगत साउन ११ देखि १४ गतेसम्म वडाका विभिन्न स्थानमा पुगेर नियमित स्वास्थ्य परीक्षण, औषधि वितरण, र आवश्यक परामर्श प्रदान गरिएको थियो ।
वर्षा भइरहेको भए पनि एकीकृत सेवा अभियानअन्तर्गत सञ्चालित यो कार्यक्रमको सेवा प्रवाह सफलतापूर्वक सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्र्तगत जनस्वास्थ्य, पशु स्वास्थ्य, कृषि र प्रशासनिक सेवाहरू एकै ठाउँबाट उपलब्ध गराएको थियो । गाउँघर क्लिनिक कार्यक्रम अघिल्लो आर्थिक वर्षदेखि प्रत्येक महिनाको ११ देखि १४ गतेसम्म नियमित रूपमा सञ्चालन हुँदै आएको छ । शिवपुरी–४ का जनप्रतिनिधि र कर्मचारीहरूले मौसमको प्रवाह नगरी गाउँसम्म पुगेर सेवा दिने प्रतिबद्घतासहित यो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।
स्थानीय बासिन्दाहरूले यस कार्यक्रमलाई निकै सकारात्मक रूपमा लिएका छन् । यसले गर्दा गाउँमै घरनजिकै रगतको चाप मापनजस्ता स्वास्थ्य परीक्षणहरू नियमित गर्ने बानी बसेको छ । साथै, पशु र कृषि सेवा लिन आउनेको संख्यामा पनि उल्लेखनीय वृद्घि भएको छ । नाम्ले, जुकाजस्ता पशु समस्यादेखि कृषि किरा नियन्त्रण, विषादी र औषधि व्यवस्थापनसम्मका सेवाहरू पाउँदा स्थानीयहरू खुसी छन् ।
गाउँघर क्लिनिकका एक कर्मचारीका अनुसार पहिले जनता वडा कार्यालय आउँथे, अब हामी उनीहरूको घरदैलोमै सेवा लिएर जान थालेको र यस्तो सेवा पहुँचले जनताको समय बचत भई सेवाप्रति विश्वास पनि बढेको बताए । शिवपुरी–४ को यो एकीकृत गाउँघर क्लिनिक कार्यक्रम स्थानीय तहको जिम्मेवारी र सेवा प्रवाहको उत्कृष्ट उदाहरणका रूपमा रहेको छ। यसले जनताको घरआँगनमै स्वास्थ्य, कृषि र पशुपालनजस्ता आधारभूत आवश्यकताहरूलाई सहज तरिकाले सम्बोधन गर्दै आएको छ ।
