लच्याङमा पहिरोले १८ घर विस्थापित,बाह्रविसेमा कालो ढुंगा खस्दा बस्ती जोखिममा

0
kalo dhunga

सुर्यगढी । जिल्लाको सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङका तीन वटा बस्तीमा पहिरोको जोखिम उच्च रहेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार १८ घरधुरी प्रत्यक्ष रुपमा जोखिममा छन् भने एक सय २८ घर प्रभावित छन् ।
जोखिममा रहेका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले घटनास्थलमा पुगेर स्थलगत अध्ययन गरी अस्थायी बसोबासका लागि टेन्ट र त्रिपाल हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार, पहिलो चरणमा २५ थान टेन्ट र ३० थान त्रिपाल वितरण गरिएको छ । ‘पहिरोको जोखिम न्यूनीकरण गर्दै प्रभावित परिवारलाई तत्काल राहतस्वरूप अस्थायी आवास निर्माण गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।
सुर्यगढी गाउँपालिकाको बुलबुले, काउले र स्याम्राङ बस्तीहरू पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाको समन्वयमा पूर्वतयारीस्वरूप जोखिम न्यूनीकरण गर्न टेन्ट निर्माण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको हो । सुर्यगढी गापा लच्याङको बुलबुले, काउले र स्याम्राङ बस्तिको १८ घरधुरी पहिराको उच्च जोखिममा रहेको समितिले जनाएको छ । यसका साथै ती वस्तीहरुको एकसय २८ घरधुरी प्रभावित भएका छन् ।
सुर्यगढी गाउँपालिका अध्यक्ष शान्तबहादुर घलेले स्थानीयलाई जोखिमको अवधिमा सावधानीपूर्वक बस्न आग्रह गरेका छन् । ‘पहिरो आउनुअघि नै आवश्यक सामग्रीहरू वितरण गरिएको छ, अब समुदाय पनि सचेत रहन आवश्यक छ,’ घलेले भने ।
प्हिरोको जोखिममा रहेकाहरुका लागि निर्कुभुमे आधारभूत विद्यालयको चौरमा अस्थायी टेन्टहरू राखिएको वडाध्यक्ष राजकुमार तामाङले बताए ।
यसैवीच, तादी गाउँपालिकाको वडा नं. ४ बाह्रविसेमा वस्तीमाथि रहेको कालो ढुंगा खसेपछि चार घर जोखिममा परेका छन् । एक साता अघि अघि परेको अविरल वर्षाले ढुंगा करिब २० मिटर तल घिस्रिएर अड्किएको छ । ढुंगाको कारण मिनबहादुर श्रेष्ठ, अमृतलाल श्रेष्ठ, अम्मरबहादुर श्रेष्ठ र सुरेन्द्र तिमल्सिनाका घर प्रत्यक्ष जोखिममा परेका छन् ।
ढुंगा खसेको क्षेत्रमा पर्ने गंगटे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडकको बाह्रविसे खण्ड, कल्याण माध्यमिक विद्यालय, बुद्घभूमि हाइड्रोपावरको पाइपलाइन र आसपासका खेतीयोग्य जमिन समेत उच्च जोखिममा रहेको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताए ।


शुक्रवार सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, नेपाली सेनाका कर्णेल अशोक मल्ललगायतका टोलीले स्थलगत अनुगमन गरेको छ ।

Featured image

Leave a Reply

Your email address will not be published. Required fields are marked *